वाम कार्यदलको बैठक सम्पन्न, दुई उपसमिति गठन

काठमाण्डौं । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि गठित संगठनात्मक स्वरुप र अन्तरिम विधान निर्माण कार्यदलले दुई उपसमिति निर्माण गरेको छ।

एमाले मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले विधानको खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरण प्रस्ताव तयार गर्न दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको हो।

विधानको खाका तयार गर्ने उपसमितिमा वर्षमान पुन र वेदुराम भुषाल छन् भने जनवर्गीय संगठनको एकीकरण प्रस्ताव सम्बन्धि उपसमितिमा गिरिराजमणि पोखरेल र गोकर्ण विष्ट छन्।

संगठनात्मक स्वरुप र अन्तरिम विधान निर्माण कार्यदलमा माओवादी केन्द्रबाट रामबहादुर थापा, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, मातृका यादव र वर्षमान पुन सदस्य छन्।

एमालेबाट महासचिव इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे कार्यदलमा सदस्यका रुपमा छन्।

माओवादी केन्द्रका थापा संयोजक तोकिएको कार्यदलको सांगठनिक खाका र विधान सम्बन्धि प्रतिवेदन २५ फागुनभित्र बुझाउनुपर्ने सीमा तोकिएको छ।

सरकार विस्तार अगाडि ८ फागुनमा दुई पार्टीबीच एकताका लागि ७ आधार तय भएपछि एकतालाई सहयोग पुग्नेगरी दुई कार्यदल निर्माण गरिएका थिए।

रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा अन्तरिम विधान निर्माण सम्बन्धि कार्यदल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन र सिद्धान्तका विषय सम्बन्धि कार्यदल गठन गरिएको थियो।

अन्तरिम विधान मस्यौदा कार्यदलको यसअघिको बैठकमा एक अर्को पार्टीको सांगठनिक संरचना र विधानका विषयमा जानकारी आदानप्रदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्