दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पहिलो पार्टी हुनबाट रोक्न सक्दैनः एमाले नेता पाण्डे

काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले २ नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई दुनियाँको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले भने, “यस अघिका दुई चरणका निर्वाचनमा पनि एमाले पहिलो भैसकेको छ, अबको निर्वाचनमा पनि पहिलो हुने आधार भनेको यही हो, २ नम्बर प्रदेशमा पनि हामी पहिलो हुन्छौं, दुनियाँको कुनैपनि अदृश्य शक्तिले अब हाम्रो पार्टीलाई पहिलो हुनबाट रोक्न सक्दैन्।”

एमालेलाई आफ्नो मत दिएर पहिलो शक्तिको रुपमा स्थापित गराउन जनता आँतुर रहेको उल्लेख गर्दै उनले भने, ‘एमालेलाई जिताउन जनता आतुर छन्, २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै होईन, प्रदेश र केन्द्रिय संसदको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन्छ।’

नेता पाण्डेले राजमार्गको छेउमा एमालेले अत्यधिक बहुमत हाँसिल गर्ने देखेर डराएर कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्ने तयारी गरेको आरोप लगाए ।

उनले थपे, “जो जो मिलेपनि ती क्षेत्रमा पनि एमालेले एक्लैले अत्यधिक बुहमतका साथ जित्छ।” अदृश्य शक्तिको दबाबमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि एमाले दुई पार्टीले तालमेल गरेको ठाउँमा पनि एमाले पराजित नहुने उनले ठोकुवा गरे ।

त्यस्तै उनले जनता र राष्ट्रको हितमा काम गर्ने राजनीतिक दलहरुसँग तालमेल गर्न आफ्नो पार्टी सँधै तयार रहेको बताए । उनले भने, “कांग्रेससँग पनि तालमेल हुनसक्छ, तर वेभलेन्थ मिल्नुपर्यो नि।” उनले २ नम्बर प्रदेशको निर्वाचनको लागि पार्टीले सबै ठाउँमा उम्मेद्धवार टुँगो लगाईसकेको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्