सोमबार सम्म सरकारले पूर्णता पाउँछः दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारसम्म सरकारले पूर्णता पाउने बताएका छन्।

शनिबार भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘भोलि बेलुकासम्म सबै मन्त्रीको टुंगो लाग्छ, पर्सी ३ बजे सपथका लागि राष्ट्रपती समक्ष अनुरोध गर्ने प्रधानमन्त्री केपी ओलीसँग कुरा भएको छ,’ उनले भने।

पार्टीले नयाँ पुराना दुवै मिलाएर कार्य दक्षता र अनुभवका आधारमा मन्त्री छनोट गर्ने प्रचण्डले बताए।

पार्टी एकता कार्यदललाई १५ दिनको समय दिइएको भन्दै उनले समयमै काम सकेर औपचारिक रुपमा एकता घोषणा गरिने बताए।

उनले पार्टी एकतालाई ऐतिहाँसिक र अनौठो रुपमा हेरिएको भन्दै यो सम्वेदनशील समयमा सबै सर्तक रहनुपर्ने बताए।

मदन भण्डारी र दरवार हत्याकाण्ड जस्ता घटना फेरि हुन सक्छ किन भन्नुभएको भन्ने पत्रकारका जिज्ञासामा उनले भने, ‘ठ्याक्कै त्यस्तै नभए पनि यो समय सम्वेदनशील रहेकाले सवै सतर्क रहन मैले भनेको हुँ।‘

प्रतिक्रिया दिनुहोस्