प्रदेश नं २ का मुख्यमन्त्री राउतले आज संसदमा विश्वासको मत लिँदै

 काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन्।

प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवका अनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन्। आज विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन्। उनले बुधबार राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसँगै गई कांग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोधपत्र दिएका थिए।

आज मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन्। त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन्। बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदानका लागि आहृवान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्