काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनका सन्दर्भमा छलफल हुने
काठमाडौं , जेठ २९ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुनेछ । यी दुवै प्रतिकूलताका बीच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ ।
वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काँग्रेसमा तयारी छ । असार ५ बाट वडा अधिवेशन गर्ने भनिएपनि क्रियाशील सदस्यताकै टुंगो नलागेपछि साउन २ बाट वडा अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी छ । सोही अनुसार माथिल्लो अधिवेशन कार्यतालिका पनि संशोधन हुने छ ।
काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन ।नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै एक वर्ष थप गरिएको थियो ।
त्यो समयमा पनि महाधिवेशन हुन नसकेर संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।
२०७२ फागुन १९ गते १३ औँ महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौ १९ गते उता १४ औं महाधिवेशन गर्ने सुविधा छैन ।
काँग्रेस सभापति देउवाले पनि भदौमा महाधिवेशन हुने र आफू पूर्ण प्रतिबद्ध भएको बताइसकेका छन् । महाधिवेशनको कार्यतालिका संशोधन गरी भए पनि महाधिवेशन गर्ने देउवाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्