आज शेयर बजार परिसूचक नेप्से सामान्य घट्यो
काठमाडौं, जेठ २७ । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ ।
आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।
आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको झन्डै एक अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आज बोटलर्स नेपाल र रुरु जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतका दरले घटेको छ । समग्र बजार घटे पनि १२ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्