६ अर्बको आइपीओ निष्कासन हुँदै, कसको कति ?
काठमाडौं , जेठ २० । १७ वटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । ती कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँ बराबरका ५ करोड ९६ लाख कित्ता शेयर निष्कासनको तयारी रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर १३, फाइनान्स ३ र ‘अन्य’ १ कम्पनी अनुमतिको पर्खाइमा रहेका हुन् ।
हाइड्रोपावर कम्पनीअन्तर्गतको १३ कम्पनीको जम्मा ५ करोड ४५ लाख कित्ता शेयर निष्कासनको पर्खाइमा रहेका छन् भने फाइनान्सका ३ कम्पनीको २७ लाख ६० हजार कित्ता शेयर र ‘अन्य’अन्तर्गत डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता शेयर निष्कासनको पर्खाइमा रहेका छन् । यसका लागि ती कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र ती कम्पनीले आईपीओ निष्कासन गर्न पाउने छन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता शेयर यसअघि बोर्डमा स्वीकृत भएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाललाई स्थगित गरिएको छ ।
प्रक्रियामा रहेका साहस ऊर्जा हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, अप्पर सोलुु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, मानुुषी लघुवित्त र दोर्दी खोला रहेका छन् भने बोर्डबाट कागजपत्र मिलाउने प्रक्रियामा रहेका हिमालयन हाइड्रोपावर, डिस मिडिया नेटवर्क, बुुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, बलेफी हाइड्रोपावर र ग्रिनभेन्चर रहेका छन् । त्यस्तै, रिप्लाई एन्ड अन्डर रिभ्युमा रहेका मैलुुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, जीवन विकास लघुवित्त र सामलिङ पावर कम्पनी रहेका छन् ।
बोर्डले निषेधाज्ञाभर कुनै पनि कम्पनीको शेयर निष्काशनका लागि बिक्री आह्वानपत्र जारी नगर्ने जनाएको छ । तर निषेधाज्ञालगत्तै केही कम्पनीको आईपिओ निष्कासन हुने बोर्डले जनाएको छ । पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।
छोटो समयमा नै थारै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो । आईपीओ भर्ने मात्र लगानीकर्ता १७ लाखभन्दा बढी छन् । अहिलेसम्म डिम्याट खाताको संख्या ३४ लाखको हराहरीमा पुगेको अनुमान छ । विंस २०७७ मा १२ कम्पनीले ३१ करोड ९९ लाख १७ हजार ९६५ कित्ता आईपीओ निष्कासन गरेका थिए ।
आईपीओ निष्कासन गर्ने तयारी गरेका कम्पनीहरु–
कम्पनीको नाम आईपीओ (कित्ता) शेयर मूल्य ( रुपैयाँ)
साहस ऊर्जा हाइड्रोपावर लिमिटेड १,०५,००,००० १,०५,००,००,०००
सयपत्री हाइड्रोपावर लिमिटेड ९,००,००० ९,००,००,०००
अप्पर सोलुु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी ३३,०७,५०० ३३,०७,५०,०००
मानुुषी लघुवित्त वित्तीय संस्था ३,९३,७५० ३,९३,७५,०००
दोर्दी खोला जलविधुत् कम्पनी २९,५१,९२९ २९,५१,९२,९००
हिमालयन हाइड्रोपावर २२,५०,००० २२,५०,००,०००
डिस मडिया नेटवर्क २३,८५,९२९ २३,८५,९२,९००
बुुद्धभूमि नेपाल हाइड्रोपावर १२,००,००० १२,००,००,०००
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था ३,८९,००० ३,८९,००,०००
बलेफी हाइड्रोपावर ३६,५५,९४० ३६,५५,९४,०००
ग्रिनभेन्चर लिमिटेड ६२,५०,००० ६२,५०,००,०००
मैलुुङ खोला जलविद्युत् कम्पनी ७,३६,२८६ ७,३६,२८,६००
मध्यभोटेकोसी जलविद्युत् कम्पनी १,५०,००,००० १,५०,००,००,०००
न्यादी हाइड्रोपावर ४०,५०,००० ४०,५०,००,०००
विन्ध्यवासिनी हाइड्रोपावर २५,००,००० २५,००,००,०००
जीवन विकास लघुवित्त वित्तीय संस्था १९,७७,३०० १९,७७,३०,०००
सामलिङ पावर कम्पनी १२,३०,००० १२,३०,००,०००
कूल ५,९६,७७,६३४ ५,९६,७७,६३,४००
(स्रोतः नेपाल धितोपत्र बोर्ड)
प्रतिक्रिया दिनुहोस्