अर्थमन्त्री पौडेलको जवाफ- बजेट सुनाउन होइन कार्यान्वयनका लागि हो

-काठमाडौं , जेठ १६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। शनिबार प्रस्तुत भएको आर्थिक वर्ष २०७८/ ७९ को बजेटमाथि आएका प्रतिक्रियाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’

उनले बजेट कार्यान्वयन गरेर देखाउनसमेत बताएका छन्। ‘विपक्षी दलले अध्यादेशमार्फत बजेट आएको भन्दै विरोध जनाएको भन्दै उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको दाबी गरेका छन्।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार सरकार अगाडि बढेको उनको भनाइ छ।

‘योभन्दा अर्को विकल्प थिएन। हामीले वैधानिक विकल्प अनुसार नै बजेट ल्याएका हौँ’, उनले थपे, ‘संकटको समयमा कामचलाउ बजेट ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट पन्छिन मिल्दैन।’

प्रतिक्रिया दिनुहोस्