नयाँ वित्तीय उपकरणमा लगानी विस्तार गर्ने नागरिक लगानी कोषको तयारी: कार्यकारी निर्देशक कार्की

काठमाडौं । नागरिक लगानी कोषले पूँजीबजारको विकासमा आफ्नो योगदान थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणहरूमा लगानी विस्तार गर्ने तयारी गरेको छ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलका क्रममा यस्तो जानकारी दिएका हुन्। उनले कोषको लगानी क्षेत्र विस्तार गरी पूँजीबजारमा नयाँ वित्तीय उपकरणमार्फत लगानी गर्ने व्यवस्था ऐनमै समेट्न खोजिएको बताए।

उनका अनुसार नागरिक लगानी कोषले परम्परागत लगानीका क्षेत्रबाट अघि बढ्दै पूँजीबजारका नयाँ वित्तीय उपकरणमा समेत लगानी विस्तार गर्न आवश्यक छ। यसबाट पूँजीबजारको विकासमा योगदान पुग्नुका साथै छरिएर रहेको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवसर सिर्जना हुने उनको भनाइ छ।

कार्कीले नागरिक लगानी कोष स्थापना हुनुको प्रमुख उद्देश्य छरिएर रहेको बचत संकलन गरी राष्ट्र निर्माणका लागि पूँजी परिचालन गर्नु भए पनि प्राथमिकता प्राप्त क्षेत्र तथा परियोजना कर्जामा अपेक्षाअनुसार लगानी हुन नसकेको बताए। त्यसलाई सहज बनाउँदै कोषको लगानीलाई थप उत्पादनशील क्षेत्रमा विस्तार गर्न कानुनी व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।

उनले कोषको लगानी क्षमता र कार्यक्षेत्र विस्तारसँगै संस्थागत तथा सञ्चालनसम्बन्धी समस्याको समाधान पनि विधेयक संशोधनको महत्त्वपूर्ण उद्देश्य रहेको स्पष्ट पारे।

कोषको दैनिक सञ्चालनमा देखिएका व्यावहारिक कठिनाइ, कार्यसम्पादनका क्रममा रहेका कमीकमजोरी तथा महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षणका क्रममा औँल्याइएका कैफियतलाई सम्बोधन गर्ने विषयसमेत संशोधन प्रक्रियामा समेटिएको उनले जानकारी दिए।

प्रस्तावित संशोधनले नागरिक लगानी कोषको संस्थागत क्षमता अभिवृद्धि, लगानीका नयाँ अवसरको विस्तार र पूँजीबजारमा संस्थागत लगानीकर्ताको भूमिका सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्