शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी
काठमाडौं , जेठ १५ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।
यस्तै आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ ।
बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न रु १२ अर्ब विनियोजन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्