सुकुम्बासीका लागि जग्गा किन्न ६८ करोड बिनियोजन, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

काठमाडौं , जेठ १५ । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् ।

भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

उनले गैर कानुनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताएका छन् । यस्तै सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी दिए ।

त्यस्तै, निषेधाज्ञामा साझेदारी, सहकारी तथा सबै प्रकारका खानेपानी तथा सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पुरै छुट दिने व्यवस्था मिलाइएको बताए ।

उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र क्षेत्रलाई निषेधाज्ञा अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्