एमाले र माओवादीबीच यसरी भयो पार्टी एकताको लागि सातबुँदे सहमति

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

दुई दलका नेताहरुले पार्टी एकताका सात बुँदे आधारपत्र तयार पारी हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म बसेको बैठकमा एमाले र माओवादीका नेताहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै दलका अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न नेताहरु सहमत भएका हुन् । तर सहमतिमा पार्टीको नेतृत्वबारे औपचारिक रुपमा केही लेखिएको छैन । नेताहरुका अनुसार अध्यक्ष दुवै दलको रहने र पालोपालो बैठकको अध्यक्षता गर्ने सैद्धान्तिक समझदारी भएको छ । एउटै पार्टी भएपछि कुन समयमा कसलाई के जिम्मेवारी दिने भन्ने पछि तय हुने भएकाले अहिले नै संयुक्त नेतृत्व र प्रधानमन्त्रीको फेरबदलका विषय लिखित समझदारीमा उल्लेख नगरिएको बताइएको छ ।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । त्यसैगरी जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं शताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सात बुँदेमा उल्लेख गरिएको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलले बताएका छन् । तर, पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुखलगायत पद बाँडफाँटबारे भने सहमतिपत्रमा केही उल्लेख छैन ।

यसैगरी पार्टी एकतासम्बन्धी काम अघि बढाउन दुई वटा कार्यदल निर्माण गर्ने समझदारी भएको छ । उक्त समझदारीअनुसार एउटा संगठन व्यवस्थापनसम्बन्धी हुने छ भने अर्कोलाई पार्टीका राजनीतिक कार्यक्रम विधानलगायतका दस्तावेज बनाउन जिम्मेवारी दिइने छ । ती समितिले प्रतिवेदन बनाएपछि त्यसभित्र नेताहरुको व्यवथापन, केन्द्रीय समिति, स्थायी समिति र पोलिटब्यूरोलगायत कस्तो हुने भन्ने औपचारिक टुंगो लाग्ने छ ।

सहमतिपत्रमा एमाले तर्फबाट अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलले हस्ताक्षर गर्नुभएको छ भने भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्