आइएमई जनरल इन्स्योरेन्सको २३औं बार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, बैशाख १२ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । आयोजित सभाले सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि निष्कासन गर्नेछ ।

सभाले हाल कायम रहेको कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू। १ अर्ब १५ करोड ७५ लाख ८६ हजार पुगेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।

सभामा अध्यक्ष हेम राज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको बताउँदै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भईरहेको बताए ।साथै उनले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुने विश्वास आफुले लिएको पनि बताएका छन् ।

हाल कूल बीमाको पहुंच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले भने ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ ।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए ।

कम्पनीको व्यावसायमा भएको विस्तार संगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पूंजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पूंजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ भने उल्लेखित पूंजी बृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने व्यहोरा पनि ढकालले जानकारी गराएका छन् ।

सभामा अध्यक्ष ढकालले आदरणीय शेयरधनी महानुभावहरुले विगतका साधारण सभामा दिनुभएको अमूल्य सुझाबको मनन गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडी बढाईने व्यहोरा समेत जानकारी गराए ।

कम्पनीले २३औं साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेको छ ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराउनु भयो ।

यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्