आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं , बैशाख १० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेका छन् । बिहिबार अन्तरसरकारी वित्त परिषदको छैटौं बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न उनले सुझाव दिए । यस्तो सुझाव दिदै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको समेत औंल्याएका छन् । बैठकमा अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्यांकन, स्रोत व्यवस्थापनलगायत आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताए ।

वित्तीय संघीयतालाई समृद्ध पार्न आवश्यक भएको भन्दै यसकार्यमा सहयोग गर्न अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहलाई आग्रह गरे । बैठकमा अधुरा तथा वहुवर्षिय आयोजनालाई उच्च प्राथमिकता साथ सम्पन्न गर्ने, वित्तीय अनुशासन र कानुनको परिपालन एवं मितव्ययिता कायम गर्ने, तीन तहबीचको वित्तीय प्रतिवेदन प्रणालीलाई एकीकृत गरी गर्ने विषयमा छलफल भएको थियो ।

संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आकांक्षा पनि बढेको र सीमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिएपनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्