नेप्से २६ सय ४८ अंकमा: सातामा ३२ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौ , बैशाख १० । यो साता नेप्से २६ सय ४८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दसमलव ६० अंकमा पुगेको छ ।

यो साता दुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार एक सय ७० रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा धेरै हो ।

नेप्सेमा गत साता भने दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ५२ हजार सात सय ९० पटकको कारोवारमा चार करोड ७५ लाख ३३ हजार सात सय ४४ कित्ता सेयर किनबेच भएका थिए भने कुल सेयर कारोवार रकम २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौथो दिन घटेको थियो भने तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो ।

जसमध्ये पहिलो दिन आईतबार नेप्से ३५ दसमलव ८९ अंकले घटेर २६ सय ९९ दसमलव ५१ पुग्दा सेन्सिटिभ पनि छ दसमलव २९ अंकले घटेर चार सय ८६ दसमलव १६ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ३७ दसमलव ५८ अंकले घटेर २६ सय ६१ दसमलव ९३ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव छ अंकले घटेर चार सय ७९ दसमलव १० अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से दुई दसमलव ६८ अंकले बढेर दुई हजार छ सय ६४ दसमलव ६१ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले बढेर चार सय ७९ दसमलव ६० अंकमा चढेको थियो । चौथो कारोवार दिन भने नेप्से पुन ३२ दसमलव ४१ अंकले घटेर दुई हजार छ सय ३२ दसमलव २० अंकमा झरेकोमा सेन्सिटिभ पनि छ दसमलव २१ अंकले घटेर चार सय ७३ दसमलव ३९ अंकमा झरेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से १५ दसमलव आठ अंकले बढेर दुई हजार छ सय अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव २१ अंकले बढेर चार सय ७६ दसमलव ६० अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुबित्त बित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, एनसीसी बैंक आदि परेकाछन भने बढी सेयर कारोवार भएको संख्याको आधारमा एनसीसी बैंक, हिमाल दोलखा हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लगायतका कम्पनीहरु परेकाछन ।

पुंजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक अगाडि परेकाछन । सेयर सुचीकरण तर्फ भने यो साता नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, नागरिक लगानी कोष, साना किसान लघुुबित्त बित्तीय संस्था सहितका झण्डै एक दर्जन कम्पनीहरुको बोनस एवं हकप्रद सेयर सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्