चीनबाट ल्याएको कोरोनाको खोप बुधबारदेखि लगाइने
काठमाडौं, चैत २३ । सरकारले चीनबाट ल्याएको कोरोनाको खोप बुधबारदेखि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताएका छन् ।
उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ । यसपाली खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई लगाइने पनि उनले जानकारी दिए ।
छिमेकी मित्रराष्ट्र चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरूप कोरोना भाइरस (कोभिड–१९) विरुद्धको आठ लाख डोज खोप उपलब्ध गराएको हो। चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोप उपलब्ध भएको हो।
यसैबीच यसअघि सिरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’को १० लाख डोज खोप नेपालले भारत सरकारको अनुदान सहयोगमा प्राप्त गरिसकेको छ।
पहिलो चरणमा चार लाख ३८ हजार ८७९ जनालाई खोप लगाइएको थियो भने त्यसपछि पटक–पटक गरेर हालसम्म करिब १६ लाख जनालाई खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ। कोरोना खोप अन्र्तगत अभियान चलीरहेकै बेला फेरि कोरोना संक्रमण बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्