सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड कहिले ?
काठमाडौं , चैत १८ । सिंगटी हाइड्रो इनर्जी कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ यसै साता बाँडफाँड हुने भएको छ ।
शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने काम भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ । मेगा क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन ।
सिंगटी हाइड्रो इनर्जीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट शेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो ।
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्