ज्योति लाइफ इन्सुरेन्सको साधारण शेयर १३ गते बाँडफाँट हुने

काठमाण्डौ , चैत ११ । धेरै लगानीकर्ताको पर्खाईको रूपमा रहेको ज्योति लाइफ इन्सुरेन्सको साधारण शेयरको चैत १३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलका अनुसार चैत १३ गते शुक्रबार साधारण शेयर बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।

यस इन्सुरेन्स कम्पनीमा परेको आवेदनहरु रुजु गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले आगामी शुक्रबार चैत १३ गते बाँडफाँट गर्ने तयारी गरिएको बताएको छ ।

ज्योतिको साधारण शेयरमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६।४ गुणा बढी हो । ज्योतिको साधारण सेयरमा परेको आवेदन हालसम्मका कुनै पनि साधारण सेयरमा परेको सबैभन्दा धेरै आवेदन हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरै भने साधारण शेयर पाउनबाट वञ्चित हुनेछन् । ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । साधारण शेयर बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्