नौबिसे–मुग्लिङ सडक चार लेन बन्दै

काठमाडौं । पृथ्वी राजमार्गको सवारी चाप व्यवस्थापन गर्न सरकारले नौबिसे–मुग्लिङ खण्ड चार लेनमा विस्तार गर्ने भएको छ। कतिपय ठाउँमा अहिलेको सडक यथावत् राखी त्रिशूली नदीपारि नयाँ बनाउने योजना छ।

सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले विश्व बैंकको आर्थिक सहयोगमा नौबिसे–मुग्लिङ खण्ड विस्तार गर्न लागेको जानकारी दिए।

यो आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि विश्व बैंककै सहयोगमा भएको हो। ‘विस्तृत डिजाइन तयार भइसकेको समन्वय महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले बताए ।

उनका अनुसार जारी सडक आयोजना समीक्षा र नयाँ टुंगो लगाउन विश्व बैंक प्रतिनिधिमण्डल नेपाल आएको छ। उक्त टोलीसँग बिहीबार करिब डेढ घन्टाको छलफलमा नौबिसे–मुग्लिङ खण्ड विस्तार लगायत नयाँ आयोजनाबारे कुराकानी भएको श्रेष्ठले जानकारी दिए।

मुग्लिङ–नारायणघाट स्तरोन्नतिसँगै विभागले नौबिसे–मुग्लिङ खण्ड विस्तार गर्न लागेको हो।

विभागले नौबिसे–मुग्लिङ विस्तारमा दुइटा विकल्प अघि सारेको छ।पहिलो विकल्पमा करिब सय किलोमिटर लामो यो खण्ड स्तरोन्नति गरी चार लेनको बनाइनेछ। स्तरोन्नति गर्नुपर्ने ठाउँमा सकभर भित्तो काटिने छैन।

बरु नदी किनारमै ‘रिटेनिङ वाल’ उठाएर ढलान गरी सडक विस्तार गरिनेछ। पहिरो जोखिम भएका र विस्तार गर्न नमिल्ने ठाउँमा अहिलेकै सडक यथावत् राखेर त्रिशूलीपारि नयाँ बनाइनेछ। नयाँ बन्ने सडक चार लेनकै हुनेछ।

श्रेष्ठका अनुसार नयाँ सडक बनाउनुपर्ने ठाउँ पहिचान भइसकेका छन्। यो करिब २५ किलोमिटर हुनेछ।

खासगरी धादिङको विशालटारदेखि फिस्लिङसम्म १५ किलोमिटर हिस्सा त्रिशूलीपारि बनाउने योजना छ। कृष्णभीर लगायत अन्य जोखिमपूर्ण भीर छल्न पनि नयाँ बनाउनुपर्ने अध्ययनमा देखिएको छ। यो थप १० किलोमिटर हुनेछ।

चार लेन विस्तार र करिब २५ किलोमिटर नयाँ बनाउन ३० करोड अमेरिकी डलर लाग्ने अनुमान छ। विभागले यही सहायता निम्ति विश्व बैंकसँग छलफल अघि बढाएको हो। यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा पूरा हुने विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्