कोरोनाको दोस्रो लहरको जोखिम : सुरक्षा सतर्कता अपनाउन सुझाव

काठमाडौं, चैत ९ । अहिले भारतका विभिन्न राज्यमा कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण तिब्र रुपमा बढिरहेको छ । संक्रमण बढेपछि त्यहाँका विभिन्न देशमा लकडाउन गर्न पनि सुरु गरिएको छ । यसरी छिमेकी देश भारतमा कोरोना फैलिन सुरु भएसँगै नेपालका सीमावर्ती क्षेत्रमा जोखिम बढेको छ ।

पुरानो कोरोना भाइरसको अन्त्य नहुँदै फेरि नयाँ संक्रमण बढ्न थालेको हो । गत हप्ता भारतमा दुई लाख ६० हजार नयाँ संक्रमित भेटिए । जसमध्ये ७० प्रतिशत संक्रमित पश्चिमी राज्य महाराष्ट्रका रहेका जनाइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना नहुनुलाई विशेषज्ञहरुले संक्रमण वृद्धिको प्रमुख कारण मानेका छन् । संक्रमण बढ्नुमा नयाँ प्रकारको भाइरस पनि जिम्मेवार रहेको ठानिएको छ ।
भारतमा हालसम्म एक करोड १० लाख मानिस संक्रमित हुँदा एक लाख ६० हजारको मृत्यु भइसकेको छ ।

गत वर्षको सेप्टेम्बरमा दैनिक औसत ९० हजार संक्रिमित भेटिने गरेकोमा यो वर्षको सुरुवातमा यो संख्या घटेर २० हजारमा झरेको थियो । तर, पछिल्ला दिनहरुमा पुनः यो संख्यामा वृद्धि भइरहेको छ ।यसरी फेरि पनि कोरोना फैलन थालेपछि सबैमा डर त्रास छाएको छ ।

कोरोनाका कारण निकै सास्ती ब्यहोरेका जनतामा पुनः डर छाएको हो । यता नेपालमा पनि भारतबाट आएकामा नयाँ कोरोना संक्रमण भेटिएको छ । यस कारण स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन तथा भिडभाड नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्