प्रदेश ७ का मुख्यमन्त्रीको शपथ आज, प्रदेश ५ः उपसभामुखको मनोनयन आज हुदै÷प्रदेश ६ ले आज उपसभामुख पाउने

काठमाडौं । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आज शपथग्रहण हुँदैछ । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले शनिबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा उनलार्इ पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।

भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भट्टलाई ३५ जना सांसदको समर्थन छ ।
प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलले दिउँसो ३ बजेका लागि शपथ तय भएको जानकारी दिए ।

मुख्यमन्त्रीको शपथलगत्तै सरकार विस्तार गर्ने बताइए पनि अहिलेसम्म मन्त्रीको नाम टुंगो लागेको छैन । प्रदेशमा रहने ७ मन्त्रालयमध्ये एमालेले ५ र माओवादीले २ लिनेगरी भागबण्डा भइसकेको छ । तथापि, दुवैले मन्त्री टुंग्याउन सकेका छैनन् । खासगरी एमाले संसदीय दलको नेतामा विवाद छ । विवाद बढेपछि दलको नेता छान्ने जिम्मा एमाले उपाध्यक्ष तथा प्रदेश ७ का एमाले संयोजक भीम रावललाई दिएको छ ।

प्रदेश ५ः उपसभामुखको मनोनयन आज
प्रदेश ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ । भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन हुदैछ । संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।

उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् । संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ ।

उपसभामुखमा एमालेकी सांसद् कृष्णी थारुको नाम चर्चामा छ । उनी पूर्वकम्लरी हुन् । दाङकी धमकली थारु चौधरीको नाम चर्चामा रहेको छ । यसबाहेक रुपन्देहीबाट पनि उपसभामुखमा उम्मेदवारी हुनसक्ने एमालेका एक नेताले बताए ।

उपसभामुखको नाम टुंगो लगाउन अहिले एमाले बैठक बसिरहेको छ ।
प्रदेश ६ ले आज उपसभामुख पाउने

यसैबीच, प्रदेश ६ को उपसभामुख आज चयन हुँदैछ । शनिबार बस्ने प्रदेशसभा बैठकले उपसभामुख चयन गर्नेछ ।

उपसभामुखमा माओवादी केन्द्रकी पुष्पा घर्तीको एकल उम्मेदवारी परेकाले उनलार्इ आज बस्ने प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित गर्नेछ ।

प्रदेश ६ को सभामुखमा भने माघ २९ गते एमालेका राजबहादुर शाही चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्