सर्वसाधारणका लागि खुल्यो सिंगटी हाइड्रोको आइपीओ , १० देखि २ लाख कित्तासम्म भर्न सकिने, कस्तो छ कम्पनी

काठमाडौं , चैत ६ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुन सक्नेछ ।

सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कस्तो छ कम्पनी:
दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ।

कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड छ। कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड छ।

केयर नेपालले कम्पनीको आइपिओलाई बीबी नेगेटिभको रेटिङ प्रदान गरेको छ। यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ। गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण छ।

प्रतिक्रिया दिनुहोस्