नया आयोजनामा प्रस्ताव नगर्न अरु मन्त्रालयलाई अर्थको आग्रह
काठमाडौं , चैत २ । नया आयोजनामा प्रस्ताव नगर्न अरु मन्त्रालयलाई अर्थ मन्त्रालयले आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अथेले अन्य मन्त्रालयहरुलाई आग्रह गरेको हो ।
मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयसँग गरेको छलफलमा यस्तो आग्रह गरेको हो । साथै मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न पनि अनुरोध गरेको छ ।
अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने सःसर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने बताएको छ । सःसर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।
अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।
यस्तै मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी पनि गराएको छ । अर्थले पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
त्यसैगरी, बजेट निर्माणका मार्गदर्शनहरुमा दीर्घकालीन नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटका बीच अन्तर आबद्धता कायम गर्ने, अनिवार्य दायित्वमा पुग्दो रकम प्रस्ताव गर्ने, पूर्वसहमति दिइएका विषयमा दायित्व अनुमान गरी सिलिङभित्र विनियोजन प्रस्ताव गर्नेलगायतका छन् ।
प्रतिक्रिया दिनुहोस्