नेप्से २५ सय ५४ अंकमा, सातामा ३८ अर्ब ६० करोडको सेयर किनबेच

काठमाडौ , फागुन १४ । यो साता नेप्से २५ सय ५४ दसमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स चार सय ६१ दसमलव ८१ अंकमा पुगेको छ ।

यो साता दुुई सय सात वटा कम्पनीहरुको चार लाख १८ हजार छ सय ५५ पटकको कारोवारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम भने ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा घटेको हो ।

नेप्सेमा गत साता भने दुई सय आठ वटा कम्पनीहरुको तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोवारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोवार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो र चौथो दिन बढेपनि बाँकी दिनहरुमा उच्च अंकले घटेको छ ।

सो मध्ये पहिलो दिन नेप्से तीन दसमलव ६६ अंकले बढेर २६ सय ४० दसमलव ३४ अंकमा पुग्दा सेन्सिटिभ भने दुई दसमलव दुई अंकले घटेर चार सय ७९ दसमलव ५८ अंकमा झरेको थियो । दोस्रो दिन भने नेप्से ३२ दसमलव ६७ अंकले घटेर दुई हजार छ सय सात दसमलव ६७ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव २२ अंकले घटेर चार सय ७० दसमलव ३६ अंकमा झरेको थियो । तेस्रो दिन पनि नेप्से २१ दसमलव १६ अंकले घटेर दुई हजार पाँच सय ८६ दसमलव ५१ अंकमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ४१ अंकले घटेर चार सय ६७ दसमलव ९४ अंकमा झरेको थियो ।

चौथो दिन भने नेप्से १२ दसमलव ५६ अंकले बढेर दुई हजार पाँच सय ९९ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दसमलव चार अंकले बढेर चार सय ७० दसमलव ३४ अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन भने नेप्से ४४ दसमलव ९४ अंकले घटेर २५ सय ५४ दसमलव १३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५३ अंकले घटेर चार सय ५१ दसमलव ८१ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्टक्चर बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

नेप्सेका अनुसार यो साता मुक्तिनाथ बिकास बैंक, लक्ष्मी लघुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, अरुण भ्याली हाईड्रो पावर कम्पनी सानिमा बैंकको आठ दसमलव पाँच प्रतिसत डिवेञ्चर २०८७, सानिमा माई हाईड्रो पावर कम्पनी सहितका झण्डै एक दर्जन कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्