कोरोना खोप खरिद गर्न अर्थ मन्त्रालयद्वारा १ अर्ब बजेट स्वीकृत

काठमाडौं, फागुन ५ ।कोरोना खोप खरिद गर्न अर्थमन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । यसअघि अर्थ मन्त्रालयले खोप खरिद गर्नका लागि ५० करोड स्वास्थ्य मन्त्रालयलाई दिएको थियो ।

थप ५० करोड रुपैयाँ दिने स्वीकृत मंगलबार गरिएको हो । अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो । यो रकम स्वास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्न सक्नेछ ।

यसअघि मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि स्वास्थ्यबाट अग्रिम रकम माग भएको थियो ।

सोहीअनुसार अर्थले बजेट स्वीकृत गरेको हो । खोपका लागि ४८ अर्ब चाहिने अनुमान गरिएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । यसबाहेक चीनले ५ लाख डोज खोप दिने बताएको छ । यसबाहेक अन्य आवश्यक खोप भने सरकारले खरिद गर्नुपर्नेछ । खोप किन्न मात्र ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिना भित्र सबै नागरिकलाई खोप दिइसक्ने प्रतिवद्धता गरेका छन् । त्यसलाई संशोधन गर्दै प्रधानमन्त्री स्वयमले तीन महिनाभित्र प्राथमिकतामा रहेका नागरिक र एक वर्षभित्र सबै नागरिकलाई निःशुल्क कोरोना खोप दिइसक्ने जानकारी गराएका छन् । अहिले नेपालमा कोरोना खोप अभिया चलीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्