प्रेम दिवस र प्रभात
“मलाई आज सधैँभन्दा निकै आनन्द लागेको छ । कतिखेर उज्यालो होला र सुमीसँग भेट होला ।” यस्तै यस्तै पे्रमपूर्ण विचारले दिमाग खल्बल्याउँदै ओच्छ्यानमा बङ्लङग पल्टियो प्रभात । फेरि एकछिन पछि उसले किनेर ल्याएको हरिया पातले सजिएको हाँगैसँगको राता गुलाफका फूलको गुच्छा भोलि सुमीले पाउँदा ऊ कति दङ्ग पर्दिहो भन्दै ऊ आफै पनि मुस्कुरायो । उसले फोनमा सुमीलाई सधैँ भेट्ने ठाउँमा भेट गर्ने निधो गर्यो र पुनः बिछ्याउनामा पल्टियो । उसले सोच्न थाल्यो “मैले दिएको गुलाबको फूल र मेरो हृदयदेखिको मायाले सुमीले साच्चै मलाई पनि अङ्कमाल गर्दिहो ।”
प्रभात यस्तै यस्तै सुखानुभूति गर्दै ओच्छ्यानमा पल्टिएको केही बेरमा नै भुसुक्कै निदायो । बिउँझदा उज्यालो हुन लागेको रहेछ । बिहान छ बजेतिर उसले फेरि एकपटक सुमीलाई फोन गर्यो । फोन राख्ना साथ उसले सोच्न थाल्यो –“ मेरो जीवनको पहिलो खुसीको दिन हो आज । मेरो आजको दिन अविस्मरणीय बनाउनुपर्छ ।” यस्तै यस्तै भावना खेलाउँदै ऊ ७ बजेतिर कोठाबाट बाहिरियो ।
प्रभात गाउँबाट सहर पसेको तिन वर्ष भएको थियो । डाक्टर बन्ने अभिलाषा लिएर सहर पसेको प्रभातलाई कुनै कुराको दुःख पनि थिएन । उसका बुबाआमाले दुःखसुख कमाइ गरेर पढ्ने खर्च पुर्याइदिएकै थिए । त्यसैले उसलाई पढाइमा कुनै बाधा थिएन । दिनरात मजदुरी गरी खर्च निकालेर पढ्ने उसका साथीहरुका अगाडि ऊ निकै सुखी पात्र थियो ।
प्रभातले पढाइमा पनि राम्रो गरिरहेको थियो । उसका बाबुआमा पनि ऊदेखि निकै खुसी थिए । सुमीसँगको प्रेमले ऊ झन् गन्तव्यमा पुग्न सजिलो भएको महसुस गरिरहेको थियो ।
सुमीसँग प्रेम भएको त्यति लामो समय भएको थिएन । उसले सुमीलाई प्रस्ताव नराखे पनि एकअर्कामा आकर्षण भएको करिब ६ महिना भएको थियो । मनमनै भने उसले सुमीलाई आफ्नो बनाइसकेको थियो ।
आज प्रेम दिवस । रातो गुलाबको पूmल दिएर प्रभातले सुमीलाई प्रेम प्रस्ताव राख्ने निधो गरेको थियो । प्रभात सधैँ झैँ चौबाटोमा सुमी आउने बाटो कुरेर बसिरहेको थियो । उसले करिब १५ मिनेट पर्खेपछि सुमीले अर्कै केटाको हात समातेर दाहिने हातमा गुलाफको झुप्पो देखाउँदै बाटो काटेर हिँडेको देख्यो । प्रभात निकै अतालियो । उसले सोच्न थाल्यो–“ यो के देखिरहेछु । मैले सोचेकी सुमी त यो होइन रहिछ । समी कसरी पराइ केटाको हात समातेर हिँड्न सक्ने भई ।” उसले हत्त न पत्त मोबाइल निकालेर एक पटक फोन गर्ने अठोट गर्यो । सुमीले मोबायल अफ गरेको रहेछ । उसले आफ्नो मोबायल एक टक हेर्न खोज्दा मोबायलमा नयाँ म्यासेज देख्यो “प्रभात, मैले अर्कैलाई रोजिसकेकी थिएँ । जोसँग म आज प्रेम दिवस मनाउँदै छु । तिमीले मलाई बाटोमा कुरिरहेका हौला, त्यही बाटोबाट म साथीसँग आउँदैछु । तिमीले दुःख नमान्नू ल । तिम्रो पर्खाइ केवल पर्खाइ मात्र भयो । त्यसको लागि म माफी माग्छु । नरिसाऊ है बाई ”
प्रभात निरुत्तर भयो । ऊ केही गर्न नसक्ने भयो । आफूले बोकेको गुलाफको फूल त्यही छोडिराखेर ऊ डेरातिर गयो । ऊ डेराको खाटमा पल्टियो । उसका आँखाभरि आँसु टिल्पिलाए । उसलाई एकाएक नयाँ गीतको याद आयो बेहुला बनाउँछु भन्थी बहुला बनार गै ।
बेहुला बनाउँछु भन्थी
बहुला बनार गै ।
उसलाई यो गीत युट्युबमा पूरै सुन्न मन लाग्यो । गीत सुन्दै गर्दा त्यस गीतले आफूलाई विक्षिप्त बनाएको झैँ लाग्यो । प्रसव पीडामा छट्पटाएकी नारीझैँ ऊ केहीबेर निकै छट्पटायो र एक बोतल चिसो पानी पिएर आफूलाई सम्हाल्ने कोसिस गर्न थाल्यो । उसले आफ्नो जीवनका आशा र सपना सम्झियो । “ए साँच्चि मलाई त मेरा बाबाआमाले मेरो इच्छा अनुरुप डाक्टर बन्न सहर पठाएका हुन् । एउटी केटीको रुपमा अल्झिएर म किन यति गल्दै छु । अहँ मैले यस्ता कुरामा अल्झिनु हुँदैन ।”
प्रभातलाई यस्ता अनेक कुराहरुले सचेत बनाइ रह्यो । उसले युट्युबमा सकारात्मक परिवर्तन गर्न सकिने खालका केही भिडियो हेर्यो । मानिस चिन्ताबाट कसरी मुक्ति हुन्छ ? मानिसले आफ्नो जीवन कसरी सफल बनाउँछ ? कस्तो मानिसलाई साथी बनाउने ? जस्ता प्रेरक विचार सुन्यो र उसले जुन पलङमा पीडामा छट्पटाइरहेको थियो त्यही पलङ्बाट नयाँ जीवनको सुरुवात गर्ने कोसिस गर्यो ।
प्रभातलाई ती प्रेरक विचार र भिडियोले निकै प्रेरणा दियो । उसले त्ससै बेलुकाबाट आफ्ना भावी योजनाका खाकाहरु कोर्यो । तालिका बनाएर ती योजना पूरा गर्ने प्रण गर्यो । खराब सङ्गतको छोटो अनुभूतिले उसलाई उज्ज्वल भविष्य निर्माणमा लम्किने अवसर मिल्यो ।
गीता सापकोटा
MA, Mphil
प्रतिक्रिया दिनुहोस्