प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं , फागुन ३ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली काँग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेसले गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्दै छ भने पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् ।

विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्