नेप्सेमा नयाँ रेकर्ड ,कारोबार रकम हालसम्मकै उच्च

काठमाडौं,  माघ २५ । शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै ४९ अङ्कले बढेको छ ।बैंकिङ सूचक घट्दा पनि सेयर बजारमा परिसूचक नेप्से भने दुई प्रतिशतले बढेको हो ।

बैंक र म्युचल फण्डबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ४८ दशमलव ७४ अङ्कले बढेर २५ सय २४ विन्दुमा पुगेको छ ।

आइतबार व्यापार समूहको शेयर ८२ अङ्कले, होटल समूहको २७, जलविद्युतको ५९, फाइनान्सको १६, निर्जीवन बीमाको चार सय ९०,उत्पादन समूहको ४१, अन्यको ५३, माइक्रो फाइनान्सको तीन सय ४४ र जीवन बीमा समूहको शेयर पाँच सय ७२ अङ्कले बढेको छ ।

आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । दुई सय दुई कम्पनीका एक करोड ७७ लाख ३६ हजार कित्ता शेयर १० अर्ब ४४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । यसअघि माघ १५ गते नौ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल डिस्टिलरीको ५३ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आइतबार आठ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत र २८ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि नेपाल फाइनान्सका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्