बर्डफ्लू देखिएपछि सरकारले लगायो कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध, सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं, माघ १८ । नेपालमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको हो । यसको साथै जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । यति बेला पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।
यता नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर खान पनि चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लुको संक्रमण भएमा निमोनिया र रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन पनि चिकित्सकको सुझाव छन् ।

यो बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, ¥याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ ।मन्त्रालयका अनुसार १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्