आज गाई र गोरुको पूजा गरिदै

काठमाडौं, १७ कार्तिक । आज नेपालभर कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई र गोरुको पूजा गरिदैछ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई पूजाको दिन ललितपुरको स्नेहाज केयर र चोभारमा पनि मानिसहरूले गाई पूजा गरेका छन् ।

आजै गोरु र कृषकको पूजाआजा पनि गरिँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसै गरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

 

प्रतिक्रिया दिनुहोस्