शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक

काठमाडौं, माघ १६ । शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको कार्यक्रममा सहभागी लगाएत पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प नि शैक्षिक सुधारका लागि त्रिपक्षी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याए ।

समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्दै उनले अझै पनि विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने थलोका रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताए ।

विद्यालय प्रविधिमैत्री नभई शैक्षिक गुणस्तर र सुशासन कायम हुन नसक्ने बताउँदै उनले गुणस्तरीय शिक्षा र सुशासन कायम गर्न विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताउँदै उनले बजारमा बिक्री हुने खालको शिक्षाको जरुरी रहेको औँल्याए ।

धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे ‘नगर शिक्षा घोषणापत्र २०७७’ जारी गरिएको छ । शिक्षाको प्रसार एवं सवलीकरण, व्यावसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा नगर क्षेत्रमा ३३ सामुदायिक, २३ संस्थागत छ धार्मिक विद्यालय सहभागी रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्