हिमपातका कारण सुदूरपश्चिमका जिल्लामा विद्युत सेवा अवरुद्धः रुकुम र मनाङमा भारी हिमपात

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबारदेखि सुरु भएको हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

अत्तरीया–दीपायल जोड्ने ११ सय केभीको विद्युत प्रसारण लाइनमा हिमपात तथा वर्षादले खराबी आएपछि गएरातिदेखि डडेल्धुरा, बैतडी, आछाम तथा डोटीमा विद्युत सेवा बन्द भएको छ ।

डोटीको दीपायलस्थित ११ सय केभी विद्युत प्रसारण केन्द्रका स्टेशन प्रमुख भोजबहादुर स्वाँरका अनुसार डडेल्धुराको हगुल्टे क्षेत्रमा भएको हिमपातले विद्युत लाइनमा खराबी हुँदा सेवा बन्द भएको हो ।

बन्द भएको विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन कर्मचारी खटिए पनि प्रतिकुल मौसमका कारण सेवा सञ्चालनमा आउन सकेको छैन् । विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम क्षेत्रका जिल्लामा रहेका केही रेडियोस्टेशन पनि बन्द भएका छन् ।

उता रुकुममा लामो समयपछि वर्षासँगै हिमपात शुरु भएको छ । रुकुममा हिजो साँझबाट पानीसँगै भारी हिमपात सुरु भएको हो ।

रुकुम पश्चिम र पूर्वका सबै ठाउँमा पानी परेको छ भने रुकुम पश्चिमका केही ठाउँ र रुकुम पूर्वका सबै गाउँपालिकामा भारी हिमपात भएको छ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट, स्यालाखदी, घेत्मा, गोतामकोट, झारमारे लगायतका वडामा पानीसँगै भारी हिमपात भएको छ ।

त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङमा भारी हिमपात भएको छ । भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा पनि हिउँ परेको छ ।

त्यस्तै भुमे गाउँपालिकाको महत गुनाम, काँक्री, काँडा, लावाङ, लुकुम लगायतका ठाउँमा पनि पानीसँगै हिमपात भएको छ ।

हिमपात भएसँगै त्यहाँको तापक्रम माइनसमा झरेको र जनजीवन कष्टकर बनेको छ ।

यस्तै, हिमाली जिल्ला मनाङमा पनि भारी हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमन ठप्प बनेको छ ।

चामे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताएका छन् ।

चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटो मै रोकिएका छन् । हिमपातका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेका छैनन् ।

तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताका छन् ।

 

प्रतिक्रिया दिनुहोस्