कोरोना खोप लगाएका भन्छन् – सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

काठमाडौं , माघ १४ । नेपालमा कोरोना खोप अभियान आजबाट सुरु भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको हो ।

खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शुभारम्भ गरेका छन् । नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् ।
कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।

साथै डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना विरुद्धको खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भने रहेको पाएको छ । यस्तो आशंका भएकाले आफूले पहिलो खोप लगाएको निर्देशक राजभण्डारीले बताए ।

कोरोना खोपले आफूलाई केही असर नगरेकाले ढुक्क भएर लगाउन पनि उनले आग्रह गरेका छन् ।
यसैगरी डा. रमेश कोइरालाले पनि कोभिड खोपको पहिलो डोज लगाएका छन् । कुनै शंका, बिना कुनै डर बिना खोप लगाएको उनले बताएका छन् ।

अहिले विभिन्न खोप केन्द्रमा खोप लगाउने अभियान जारी नै रहेको छ । खोप लगाउनेहरुले सुरक्षित रहेको र ढुक्क भएर लगाउन पनि सुझाव दिएका छन् ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिने सरकारले जनाएको छ ।

खोप अभियानकको शुभारम्भव गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् भने कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने पनि बताएका छन् ।

नेपालले भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरेको हो । यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।पहिलो डोज खोप लगाउनेहरुले आफूहरुको स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै निश्चिन्त भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप लगाउन कतिपय हिच्किचाइरहेको बेला उनीहरुले यो खोप सुरक्षित रहेको औंल्याएका हुन् । यता खोपको पहिलो मात्रा दश दिनभित्र दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

गत वर्ष माघ १० गते नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण फेला परेको थियो । हालसम्म नेपालमा २ लाख ७० हजार संक्रमित भएका छन् भने २ हजार १ सय जनाको मृत्यु भएको छ । २ लाख ६६ को हाराहारीमा संक्रमण मुक्त भएका छन् ।

खोप लगाउँदा देखापर्न सक्छन् यी लक्षण

केहिलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
१८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन नहुने चिकित्सक बताउँछन् । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवती, कोरोना संक्रमित व्यक्तिहरुलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्