आजदेखि सुरु भयो कोरोनाविरुद्धको खोप अभियान , प्रधानमन्त्री भन्छन् – अब महामारी पहिला जस्तो हुदैन, थप खोप छिट्टै आउछ
काठमाडौँ , माघ १४ । आजदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका हुन् ।
अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफुले लगाएको डा. राजभण्डारीले बताए ।
खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताए ।
यसैबीच प्रधानमन्त्री ओलीले खोप अभियानको शुभारम्भ गर्दै कोरोनाविरुद्धको लडाईमा आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । यस अभियानमा देशभरका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेर कोरोनाविरुद्धको लडाईमा खेलेको भूमिकाका लागि उनले प्रसंशा गरे ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीले अप्रत्याशित रुपमा ज्यान लिएको प्रति दुख व्यक्त गर्दै मृतकका परिवारहरुलाई समवेदना प्रकट गरेका छन् । उनले अब सबै मानिसहरु सतर्क रहेकाले पहिला जस्तो गरेर कोरोना नफैलिने बताए । मानिसहरुले सतर्कता अपनाउदै आएकोले पहिला जस्तो महामारीको अवस्था नआउने बताए ।
प्रधानमन्त्री ओलीले खोप प्राप्त भएपनि कोरोनाबाट बच्ने उपाय भने अपनाउदै जानुपर्ने बताए । उनले पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले कोरोनाको खोप उपलब्ध गराएकोमा भारत, भारतीय जनता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए ।
उनले आगामी तीन महिनाभित्र सबैलाई खोप लगाएर सकिने गरि सकरार अगाडी बढिरहेको बताए । उनले अन्य संघ संस्थाहरुसँग पनि कुरा भइरहेको र भारत सरकारसँग थप खोप किन्ने विषयमा कुरा भइरहेको बताउदै प्रधानमन्त्री ओलीले थप खोप उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।
उनले विश्वका अन्य देशको तुलनामा नेपालमा क्षति कम भएको बताउदै पहिलो कोरोनाको केस देखिदा परिक्षण गर्ने ठाउ नभएकोमा अहिले ८२ ठाउबाट कोरोनाको परिक्षण भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्