कोरोनाले बन्द भएका उपत्यकाका विद्यालय आजबाट खुले

काठमाडौं , माघ ४ । कोरोनाका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुलेका छन् । कोभिड–१९ को कारण गत चैत्रदेखि विद्यालय बन्द रहेका थिए । काठमाडौं महानगरपालिका भित्रका विद्यालय भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी खुलेका हुन् ।

काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरूको उपस्थितिमा विद्यालय खोल्न सकिने बताएपछि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । भौतिक रूपमा पठनपाठन गर्नेगरी विद्यालय खुलेका हुन् । भौतिक रूपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरू मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।

काठमाडौंका केही विद्यालयहरू खुले पनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् ।

लामो समयपछि यसरी विद्यालय संचालनमा आउँदा विद्यार्थी भने उत्साहित भएका छन् । यता अभिभावकलाई स्वास्थ्यलाई लिएर चिन्नत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्