शेयर बजारमा दोहोरो अंकको वृद्धि, हालसम्मकै नयाँ उचाईमा

काठमाडौं, पुस २३ । साताको कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । योसँगै शेयर बजार हालसम्मकै नयाँ उचाईमा कायम गरेको छ ।साथै यसदिन कारोबार रकममा पनि वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार, बिहीवार नेप्से परिसूचक १५.९१ अंकले बढ्दै २१९४.४८ विन्दुमा पुगेको छ । जुन विन्दु हालसम्मकै उच्च हो ।

यस्तै सेन्सेटिभ परिसूचक ३.०८ अंकले बढ्दै ४२१.२२ विन्दुमा पुगेको छ ।कूल २ सय ८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २ सय ७९ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन अन्य उपसमूहबाहेक ११ वटै उपसमूहहरूको सूचक बढेको छ । यसदिन सबैभन्दा बढी व्यापार उपसमूहको सूचक सबैभन्दा बढी ४.७९ प्रतिशतले बढेको छ ।अन्य उपसमूहको सूचक ०.२ प्रतिशतले घटेको छ ।

यसदिन मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी नाफा कमाएका छन् । उनीहरूले १० प्रतिशत नाफा कमाएका छन् ।

यस्तै एभरेष्ट बैंक कन्भर्टिबेल प्रिफरेन्स शेयरका शेयरधनीहरूले सबैभन्दा धेरै ३.८१ प्रतिशतले गुमाएका छन् । पछिल्लो समय शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्