नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
काठमाडौं, २२ पुस । सन् २०२०–२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले प्रकाशन गरेको ‘ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स’ रिपोर्ट अनुसार पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले नेपालको आर्थिक वृद्धिदर सामान्य रहनेछ । प्रक्षेपण अनुसार सन् २०२१–२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत पुग्नेछ । विश्व बैंकको प्रक्षेपण अनुसार समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर भने सन् २०२१ मा ३.३ प्रतिशत रहनेछ ।
सन् २०२१ मा सबैभन्दा बढी माल्दिभ्सले ९.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । तर आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको आर्थिक वृद्धिदर भने ९.६ प्रतिशत ले खुम्चिने प्रक्षेपण गरिएको छ । त्यस्तै सन् २०२१–२२ मा भने भारतको आर्थिक वृद्धिदरमा ५.४ प्रतिशत सुधार हुने प्रक्षेपण छ ।
भारतको आर्थिक वृद्धिदर पहिलादेखि नै घट्दोक्रममा रहेको र रोजगारीको अधिकांश हिस्सा ओगटेको अनौपचारिक क्षेत्रमा कोभिड( १९ महामारीको असर अधिक देखिएपछि आर्थिक वृद्धिदर ९.५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको हो । यता, सन् २०२१ मा विश्व अर्थतन्त्रमा ४ प्रतिशत सुधार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
वर्षभर कोरोना विरुद्धको खोप सर्वत्र उपलब्ध हुने अनुमानका आधारमा विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो । सन् २०२० मा विश्व अर्थतन्त्र ४.३ प्रतिशत को गिरावटपछि पुनः लयमा फर्केको थियो । सन् २०२१ मा अमेरिकाको अर्थतन्त्रमा ३।५ प्रतिशतले सुधार आउने प्रक्षेपण छ । यस्तै, चीनको अथर्तन्त्र पनि सन् २०२१ मा ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्