राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नु पर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं , पुस १९ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् ।

बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले यसतो बताएका हुन् ।ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिन नसक्ने र लगानी विस्तार हुन नसक्ने बताए ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए ।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनले बताए ।

उनले भने–राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ ।हाल देशमा पूँजीका कारण अर्थात् पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उनले बताए ।

उनले नेपाल उद्योग वाणिज्य महासंघका देशैभरिका जिल्ला नगरका समस्याहरु एकै खालका रहेका र आफूले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राका क्रममा यस्तै गुनासा र समस्याहरु सुन्ने गरेकाले ती समस्याको समाधानका लागि देशका स्थानीयदेखि प्रदेश सरकारको ध्यान जानु पर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्