बैंक अफ काठमाण्डू र सेलपेबीच सम्झौता

काठमाडौं , पुस १४ । बैंक अफ काठमाण्डूले डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एन्ड मार्केटिङ प्रमुख रितेश लामिछाने तथा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको जनाइएको छ ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू खातामा दर्ता गरिएको मोबाइल नम्बर्मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् ।

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टीभीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन–पाउन, बिमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने जनाइएको छ ।

बैंकले ९१ शाखा, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्