धितोपत्र बोर्डले घटायो ब्रोकर कसिमन, सेयर बजारलाई थप राहत मिल्ने
काठमाडौं , पुस १० । धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ। पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।
ब्रोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको जानकारी दिएको छ। कमिसन घटेपछि यसको सकारात्मक असर सेयर बजारमा पर्नेछ।अर्थमन्त्री विष्णु पौडेलकै पहलमा ब्रोकर कमिसन घटाइएको हो। अर्थमन्त्रीको निर्देशनपछि बोर्डले पनि कमिसन घटाउने निर्णय गरेको हो।
पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।
कति घट्यो ?
लगानीकर्ताले यसअघि ५० हजार सम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्नुपर्नेमा अब ०.४०२ प्रतिशतले तिरे हुने भएकोछ। ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्नुपर्नेमा अब ०.३६८५ प्रतिशत तिर्नुपर्ने छ। हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाएर सहज बनाइएको छ। अबदेखि ५ लाख देखि २० लाख सम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ।
करोड भन्दा माथिको कारोबारको हकमा अहिलेसम्म ०.४० प्रतिशत तिर्नुपर्ने थियो। अब ०.२६८ प्रतिशत तिरे पुग्नेछ। लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्