उतारचढावकाबीच सेयर बजारमा ९५ अंकको छलाङ
काठमाडौं, पुस ७ । सेयर बजारको परिसूचक नेप्सेले मंगलबार एकैदिन ९५ अंकको छलाङ मारेको छ। मुलुकमा राजनीतिक अन्यौलता बढिरहेका बेला बजारमा भने त्यसको प्रभाव देखिएको छैन।
९५.४६ अंकको वृद्धिपछि परिसूचक २०६१ अंकमा कायम भएको छ। यसअघि नेप्सेले २०६७ अंकको उच्च रेकर्ड बनाएको छ। यस दिन २०५ कम्पनीको ६ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सबै समूहहरु बढेका छन्। बैंकिङ ७०, ब्यापार ७७, होटल २०, विकास बैंक ६६, जलविद्युत ८०, फाइनान्स २५, निर्जीवन बीमा ५२७, उत्पादन ११३, अन्य ७८, माइक्रोफाइनान्स १०७, जीवन बीमा समूह ९५० अंकले बढेका छन्।
शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापन, नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सान्जेन जलविद्युत, एनआइसी एसिया बैंक, माथिल्लो तामाकोसी, रसुवागढी जलविद्युत आयोजनाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
यस दिन नारायणी विकास बैंक, युनाइटेड मर्दी जलविद्युतका लगानीकर्ताले करिब १० प्रतिशत नै मूल्य घटेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ८६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा एनआइसी एसिया बैंकको ४६ करोडको कारोबार भयो।
त्यस्तै प्रभु बैंकको ३२ करोड रुपैयाँको र एनसिसी बैंकको २७ करोड रुपैयाँको सेयर कारोबार भयो।
प्रतिक्रिया दिनुहोस्