सानेपामा काँग्रेस केन्द्रीय समिति बैठक पनि सुरु

काठमाडौं , पुस ७ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । पछिल्लो राजनीति घटनाक्रममाथि संस्थागत धारणा बनाउन बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदमविरुद्ध रणनीतिक दृष्टिकोण तय गर्ने मुख्य एजेन्डा रहेको बताएको छ । आइतबार मन्त्रिपरिषदले गरेको संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि विवाद उत्पन्न भएको छ । यस्तै सोमबार साँझ काँग्रेसको अग्रसरतामा सानेपामा बसेको तीन दलको बैठकले ओलीका कदमविरुद्ध आ (आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टीगत दृष्टिकोण बनाउने निर्णय गरेका थिए ।

त्यसपछि फेरि तीन दलको बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा जाने विषयमा छलफल भएको थियो ।
बैठकमा काँग्रेस, नेकपा र जनता समाजवादी पार्टी नेताहरूले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका थिए ।

यता जनता समाजवादी पार्टी नेपाल पनि मध्यान्ह १२ बजेबाट केन्द्रीय कार्यकारिणी बैठकमा जारी नै छ ।हिजोको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका थिए । यो विषय पनि काँग्रेस र जसपाको बैठकमा छलफलको विषय बनेको बुझिएको छ ।

सोमबारको बैडकमा त्यसबारे काँग्रेस र जसपाका नेताहरुले मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि दृष्टिकोण दिनसमेत बताएका थिए ।बैठकपछि जारी निर्णयमा पनि तिनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्नो दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको उल्लेख छ । आज काँग्रेस र जसपाको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ ।

उनीहरुले लिने कदमबाट पछिल्लो राजनीतिक घटनाक्रमले एउटा दिशा समात्ने विश्लेषण गरिएको छ । काँग्रेस र जसपाले ओलीका कदमविरुद्ध नरम नीति अख्तियार गरे मध्यावधी चुनावको माहोल खडा हुने देखिन्छ भने उनीहरुले ओलीका दमविरुद्ध कडा संघर्षको नीति लिए राष्ट्रिय सहमतिको सरकारका लागि ओलीले मार्गप्रस्त गर्नुपर्ने अवस्था आउने सक्ने पतिपयको बुझाइ छ ।

यसैबीच आज काँग्रेस र जसपाबाट संस्थागत निर्णय कस्तो आउँछ भनेर चासोका साथ हेरिएको छ । राजनीतिकदलहरु ओलीको कदमविरुद्ध बैठकमा छलफल जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्