राष्ट्र बैंकद्धारा चार महिनाको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक
काठमाडौ , पुस ६ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चार महिनाको देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन आज सोमबार सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७-७८ को चार महिनामा कुल वस्तु निर्यात १० दसमलव आठ प्रतिशतले वृद्धि भई ४० अर्ब २० करोड रुपैयाँ पुुगेको छ । प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दसमलव नौ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमाभारत तथा अन्य मुलुकतर्फ क्रमशः १४ दसमलव नौ प्रतिशत र छ दसमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९ दसमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कुल वस्तु आयात १० दसमलव छ प्रतिशतले घटेर चार खर्ब दुई अर्ब ४९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात छ दसमलव नौ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दसमलव एक प्रतिशत, २५ प्रतिशत र १९ दसमलव आठ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, तातोपानी,कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कुल वस्तु व्यापार घाटा १२ दसमलव पाँच प्रतिशतले घटेर तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दसमलव नौ प्रतिशतले ह्रास आएको थियो । समीक्षाअवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव एक प्रतिशत रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्