पशुबलि रोक्न पशुु कल्याण ऐनको खाँचो
देवेन्द्र गौतम: काठमाडौँ । पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुव्र्यवहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ ।
पशु स्वास्थ्य, खाद्य सुरक्षा तथा उत्पादनमा पशुु कल्याणका सवाललाई सम्बोधन गर्न संस्थाले सरोकारवाला पक्षसँग हालै गोष्ठी गरी पशुसेवा विभागको अगुवाइमा उक्त ऐनको मस्यौदा तयार भई मन्त्रालयमा पुुगेको जनाएको छ ।
पशु कल्याण निर्देशिका २०७३, पशु ढुवानी मापदण्ड २०६४, मुलुकी अपराध संहिता ऐन २०७४, मा पशु कल्याणका सवालमा सम्बोधन गर्न खोजेको भए पनि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताउनुुभयो । पशु कल्याणको विषयलाई व्यवस्थित बनाउन स्थानीय तहमा दक्ष जनशक्ति तयार तथा पूर्वाधारको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।
धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नमा सचेतना वृद्धि गर्दै गएको सो संस्थाले पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संस्थासँग समन्वय गरी पशुप्रति हुने कुनै पनि किसिमको दुर्व्यवहार घटाउनका लागि पशु कल्याणको अवधारणालाई सर्वसाधरणलाई बुझाउन देशका विभिन्न ५०० विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
मानिसमा आउने गलत विचार तथा दुर्गुणलाई समाप्त गरी असल भावनाको विकास गर्न धार्मिक शिक्षाको खाँचो छ । केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा संस्थाले विशेष जोड दिएको छ । हाल मौजुदा नियम कानुनले पशुको अधिकार संरक्षण गर्न नसकेकाले सो ऐन ल्याउनुपर्ने देखिन्छ ।
बाढी तथा प्राकृतिक विपत्तिको समयमा कैलालीमा गाई, भैँसी, कुकुरलगायत पशु कल्याणका क्षेत्रमा क्रियाशील सो संस्थाले काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका तीन हजार जनावरको उपचारमा सहयोग पुरयाएको छ । छाडा पशुचौपाय, सामुुदायिक कुकुर उपचार, उद्धार, पुनःस्थापनाका साथै रेबिजविरुद्ध खोप लगाउने काममा सहयोग गरेको उक्त संस्थाले जनाएको छ । गत वर्ष तराईका विभिन्न जिल्लामा आएको दुुई हजार पशुको उपचार गरेको छ । संस्थाले अहिलेसम्म १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ ।
पशुलाई पनि पीडा र खुशीको बोध गराउनका लागि पशु अधिकारको रक्षा तथा पशु कल्याणको सवलीकरणका लागि सरकार तथा गैरसरकारी क्षेत्रको सहकार्य र भूमिका महत्वपूर्ण छ । धार्मिक गतिविधि हुने मन्दिर सबैको आस्था केन्द्र भएका कारण यस्ता स्थानमा शान्त र आनन्दको अनुभूति हुनुपर्ने हुँदा पशुबली गर्न दिन नहुने आवाज पनि विभिन्न क्षेत्रबाट उठ्दै आएको छ । हिंसाबारे शास्त्रमा लामो व्याख्या छ । पशुबली भनेको पशुताको बली हो । मानिसमा विश्व शक्तिलाई बुझ्न सक्ने गुण आर्जन गरी पासविक गुणहरु हटाउँदै जाने विश्वास जोडिएको छ ।
धर्म संस्कृतिका आधारमा मन्दिर परिसरमा हुने काटमारले सम्बन्धित क्षेत्रका मानिसको र समाजको सभ्यतामा कमी आउने छ । हिन्दू धर्मलाई वेदकालभन्दा पनि अगाडि अस्तित्वमा रहेको मानिन्छ । वैदिककाल र वेदको रचनाको काल अलग–अलग मानिएको छ । हिन्दू धर्मशास्त्रमा हिंसालाई कहीँ पनि महत्व दिइएको छैन ।
संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले कुनै पनि धर्ममा पनि हिंसालाई नभएर शान्ति र प्रेमलाई महत्व दिइएकाले धर्मका नाममा हुुने पशुुबलि रोक्नुुपर्ने विचार व्यक्त गर्नुुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्