नेप्से २२ अङ्कभन्दा धेरैले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार
काठमाण्डौ , पुस २ । शेयर बजार कारोबार मापक नेप्से बिहीबार २२ दशमलव ७ अङ्कले घटेको छ । बुधबार ६ अङ्कभन्दा धेरैले घटेको परिसूचक बिहीबार पनि घटेर २ हजार ३२ दशमलव ५२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार माइक्रो–फाइनान्सबाहेक सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २७४ दशमलव २७ अङ्कले घटेको छ ।
बिहीबार ६ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरको १४ करोड ११ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार मापक सूचक घटे पनि बिहीबार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । नारायणी डेभलपमेन्ट विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ७ दशमलव ५१ प्रतिशत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्