कोरोना कोषबाट ५ महिनामा १ अर्ब ४० करोड खर्च, केमा भयो ?

काठमाडौं , मंसिर ३० । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७र७८ को मंसिर १५ सम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४० करोड ३७ लाख रुपैयाँ खर्च भएको हो ।

यो वर्ष कोषमा आम्दानी भने न्यून छ । ५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६र७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो ।

यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।सरकारले गत चैतमा यो कोष खोली रकम जम्मा गर्न आहृवान गरेको थियो । कोषमा अधिकांश सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाबाट रकम सहयोग भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष संचालक समितिका कुल चार वटा बैठकबाट कोरोना कोषको रकम उपयोग गर्ने निर्णय भएको छ । त्यसबाट विभिन्न अस्पतालहरुमा पूर्वाधार थप तथा उपकरण खरीदमा रकम निकासा गर्ने निर्णय भएको छ ।

क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा समेत कोषबाट रकम खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्