कांग्रेसले पार्टीको झण्डा तीन दिन आधा झुकाउने
काठमाडौँ , मंसिर २७ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले मङ्सिर २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक ९सामाजिक० दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनप्रति सम्मान प्रकट गर्न र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्