राष्ट्रिय वाणिज्य बैंकले नवप्रवर्तन उद्यमीलाई १५ लाखसम्मको कर्जा लगानी गर्ने

काठमाडौँ , मंसिर २६ । राष्ट्रिय वाणिज्य बैंकले नवप्रवर्तन उद्यमीहरूलाई १५ लाख रुपैयाँसम्मको कर्जा लगानी गर्ने भएको छ ।

बैंकले नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि ‘नवप्रर्वतन प्रस्ताव आह्वान’ कार्यक्रम सुरु गर्दै उक्त कर्जा लगानी गर्ने भएको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंमा बुधबार आयोजित भिडियो सन्देश र वेबसाइटमार्फत यो कार्यक्रमको उद्घाटन गरेका हुन् ।

वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नवप्रर्वतन कार्यक्रम सुरु भएको हो । कार्यक्रमअनुसार २०७७ माघभर उद्यमी बन्न चाहने युवाका लागि नवीनतम प्रवर्तन प्रस्तावको ‘डब्लूडब्लू डट स्टार्टअपआइडियाकल डट ओआरजी’ वेबसाइट प्रस्ताव आवहन गरी संकलन गरिनेछ ।

वेबसाइटमा उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलतासम्बन्धी निस्शुल्क तालिम प्रदान गरी बैंकले बढीमा ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्