काठमाडौँका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान गरिँदै
काठमाडौँ, मंसिर २५ । काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिने भएको हो ।
बत्ती जडान गर्ने विषयमा विहीबार काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका हुन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा आज मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङ्गले संघीय राजधानी समेत रहेको काठमाडौँ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तरगत यो योजना अघि बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्