८ अंकले बढ्यो सेयर बजार , कारोबार कति ?

काठमाडौं, मंसिर २५ । सेयर बजारको परिसूचक नेप्से बिहीबार ८ अंकले बढेको छ। ८. २७ अंकले बढेर परिसूचक १९६४ अंकमा कायम भएको छ।

यस दिन कारोबार रकममा भने कमी आएको छ। हिजो ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब १६ करोडमा खुम्चिएको छ। केही दिनयता कारोबार रकममा कमी आइरहेको छ।

यस दिन जलविद्युत समूहका लगानीकर्ताले गुमाएका छन्। सो समूह ७६ अंकले घटेको छ। त्यस्तै विकास बैंक समूह ३ अंकले घटेको छ।

बैंकिङ ८, ब्यापार ३८, होटल ३०, फाइनान्स १, निर्जीवन बीमा ७४, उत्पादन ११८, अन्य १३ र जीवन बीमा समूह २०६ अंकले बढेका छन्। माइक्रोफाइनान्स समूह १ अंकमुनि हरियो रह्यो।

माथिल्लो तामाकोसी जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै ९।८ प्रतिशत गुमाएका छन्। सो कम्पनीको मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ कायम भएको छ।

त्यस्तै रसुवागढीको मूल्य ८. ६ प्रतिशतले घटेर ३०८ रुपैयाँ कायम भएको छ भने सान्जेनका लगानीकर्ताले ६ प्रतिशत मूल्य गुमाए। सो कम्पनीको मूल्य २९१ रुपैयाँ कायम भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३७ करोड रुपैयाँको कारोबार भयो। सो कम्पनीको मूल्य प्रतिकित्ता १९ सय रुपैयाँ कायम भएको छ। पुनर्बीमा कम्पनीको ३५ करोडको सेयर किनबेच भयो। सो कम्पनीको मूल्य १५४९ कायम भएको छ।

लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै प्रभु बैंकको संस्थापक समूहको मूल्य १० प्रतिशतले नै बढेको छ। नरायणी डेभलपमेन्टको मूल्य करिब १० प्रतिशतले बढेको छ भने हिमालय डिस्टिलरीको मूल्य ९ प्रतिशतले बढेको छ। यसैबीच गएका दुई तीन साता आक्रामक रुपमा सुधार भइरहेको सेयर बजारमा यस साताका अधिकांश दिनमा गिरावट देखिएको छ। बजार सुधार हुने क्रममा ९ अर्बभन्दा माथिको कारोबारसहित नयाँ रेकर्ड बनेको थियो।

सुधारिएको सेयर बजारबाट नाफा बुक गर्ने क्रम बढेको हो। विगत दुई तीन महिना अगाडि सेयर खरिद गरेलकाले तत्कालीन अवस्थामा बिक्री गर्दा पनि उच्च प्रतिफल हुने भएकाले बिक्री चाप बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्